रोकिएन भारतमा संक्रमण बढ्ने क्रम, एकै दिन थपिए ९० हजार ८०२ संक्रमित

काठमाडौं , भदौ २३ । कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा दोस्रो स्थानमा पुगेको भारतमा कोरोना संक्रमण बढ्ने क्रम रोकिएको छैन ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ८०२ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ४ हजार ६१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार १६ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म भारतमा ७१ हजार ६४२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको भारत कोरोनाका कारण धेरै मृत्यु हुने देशहरुको सूचिमा भने अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । लकडाउन टु लुजडाउनको नीतिमा गएपछि भारतमा तीव्र गति कोरोना संक्रमण फैलिएको हो ।

९० हजार ६३२ कोरोना संक्रमित एकैदिन देखिने विश्वमै भारत मात्रै हो । अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म संक्रमित भेटिएका थिए ।पछिल्लो तथ्यांक अनुसार अमेरिकामा दैनिक ४५ हजार संक्रमित भेटिएका छन् भने ब्राजिलमा पछिल्लो २४ घण्टामा ३० हजार संक्रमित फेला परेका छन् ।

ब्राजिल र अमेरिकामा विस्तारै संक्रमण दर ओरालो लागिरहेका बेला भारतमा भने संक्रमण दर उकालो लाग्ने क्रम रोकिएको छैन । भारत १ अर्ब ३८ करोड जनसंख्या भएको देश हो ।

प्रतिक्रिया दिनुहोस्