प्रदेशसभाको पहिलो बैठक हेटौंडामा, यस्तो छ कार्यसूची

काठमाडौं।  प्रदेशसभाको पहिलो बैठक बिहीबार बस्दैछ । पहिलो प्रदेशसभाका रुपमा प्रदेश नम्बर ३ को बैठक आज बस्न लागेको हो । बैठक प्रदेश नम्बर ३ को अस्थायी मुकाम हेटौडामा दिउँसो १ बजेपछि शुरु हुनेछ ।

देश संघीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेशसभाको बैठक बस्न लागेको हो । सभामुख चुन्न बाँकी रहेकाले प्रदेश नम्बर ३ का ज्येष्ठ सदस्य डोरमणी पौडेलले बैठकको अध्यक्षता गर्नुहुनेछ ।

हिजो बेलुका बसेको सर्वदलीय बैठकले पाँचवटा कार्यसूची तयार गरेको छ । जसअनुसार प्रदेश प्रमुख अनुराधा कोइरालाले संसद अधिवेशन आह्वान गरेको सूचनाको विवरण प्रदेशसभाका ज्येष्ठ सदस्य पौडेलले प्रस्तुत गर्नुहुनेछ । यस्तै, सातवटा दल र एकजना स्वतन्त्र सांसदले बोल्ने कार्यक्रम छ ।

प्रदेशसभा सभामुखका लागि यही माघ २९ गते चुनाव गर्ने मिति तोक्ने प्रस्ताव पनि आजको बैठकमा राखिने कार्यसूची छ । प्रदेशसभाको अधिवेशनमा सभामुखको अनुपस्थितिमा कार्य सञ्चालन गर्न प्रदेश सदस्यको तर्फबाट सदस्य मनोनित गर्ने तथा प्रदेशसभा अधिवेशनको अन्तरिम कार्यविधिको सूची प्रस्तुत गर्ने निर्णय पनि हिजो बसेको प्रदेश नम्बर ३ को सर्वदलीय बैठकले गरेको छ ।

बैठकमा सहभागी हुन प्रदेश नम्बर तीनका सवैजसो सांसद हेटौंडा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्