१७५ वर्षसम्मको जेल सजाय सुनाइएका डाक्टरबाट २ सय ६५ जनामाथि यौन हिंसा !

काठमाडौं । अमेरिकाको मिसिगनका एक न्यायाधीशले पूर्व जिम्नास्टिक डाक्टर ल्यारी नास्सारको यौन हिंसाको सिकार भएकाको संख्या २ सय ६५ जनाभन्दा बढी भएको बताएका छन् ।

मिसिगनका न्यायाधीश जेनिस कनिङ्गमले अहिलेसम्म यौन हिंसाको सिकार भएका २६५ जनाभन्दा बढी पीडितहरुको पहिचान भइसकेको र पीडित हुनेहरु अनगिन्ती रहेको बताए ।

उनले सबै पीडित व्यक्तिगत रुपमा यो प्रक्रियामा सहभागी भएको बताएका छन् ।

अभियोजन पक्षले यसै हप्ता सजाई सुनाइने क्रममा रहेका तीन वटा सुनुवाईमा कमसेकम ६५ जना पीडितले नस्सारको विरुद्ध बयान दिन तयार रहेको जनाएको छ ।

अघिल्लो हप्ता १६० जना महिलामाथि यौन हिंसा गरेको पुष्टि भएपछि नस्सारलाई ४० देखि १७५ वर्षसम्मको जेल सजाय सुनाइएको थियो ।

यसअघि बालयौन शोषणसँग सम्बन्धित फोटो राखेको आरोपमा नस्सारलाई ६० वर्षको जेल सजाय सुनाइएको थियो ।

नास्सारले १३ वर्षभन्दा कम उमेरकी एक र १६ वर्षभन्दा कम उमेरका दुई बालिकालाई पनि यौन हिंसा गरेको बताइएको छ ।

पछिल्लो सुनुवाईका क्रममा एक १७ वर्षीया बालिकाले नस्सारलाई सैतानको संज्ञा दिएकी छन् ।

यो सुनुवाईपछि उनलाई यसअघि दिइएको सजायमा थप २४ देखि ४० वर्षसम्मको जेल सजाय बढ्ने सम्भावना रहेको बताइएको छ ।

मुद्दाको सुनुवाई तीन दिनसम्म चल्ने छ । यस क्रममा पीडितहरुको बयानसमेत लिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्