नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०० नाघ्यो, आजमात्रै १२ को मृत्यु

काठमाडौं , भदौ १३ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ । शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए ।यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको उनले बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि छ । जसमा २४२ महिला र ६४२ पुरुष रहेका छन् ।योसँगै कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ ।

हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् । यस्तै शनिबार काठमाडौं उपत्यकामा १८६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । हिजो (शुक्रवार) मात्र काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो तर हिजोको तुलनामा आज उपत्यकामा कोरोना संक्रमित ह्वात्तै घटेका छन् । शुक्रबार उपत्यकामा ४१५ जना संक्रमित भेटिएकोमा शनिबार सो संख्या घटेर १८६ जनामा सीमित भएको हो ।

प्रतिक्रिया दिनुहोस्