अरिङ्गालको टोकाइबाट ७ वर्षीय बालकको मृत्यु, लरीको ठक्करबाट टेम्पु चालकको ज्यान गयो

काठमाडौं, भदौ १३ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अरिङ्गालको टोकाइबाट शुक्रबार राति एक बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा चौकुने–६ का सात वर्षीय बालक खगेन्द्र बयक रहेका छन्। समयमै उपचार नहुँदा उनको शुक्रबार राति ९ बजे बाटोमै मृत्यु भएको हो।

बालक घर नजिकै माथिल्लो भावरको नजिक रातीमाटे डाँडामा आफ्ना साथीहरुका साथमा गाई–गोरु चराउन गएका थिए। दिउँसो ४ बजे अरिङ्गालले टोकेपछि उनी हतारहतार घरमा फर्किएका थिए।

घरमा फर्किएपछि बयकलाई घरेलु उपचार गर्दागर्दै बेहोस भएका थिए। त्यसपछि उपचार गर्न लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो।

गुटुमा रहेको स्वास्थ्य चौकी लैजाने क्रममा बालकको मृत्यु भएको नेकपा चौकुने गाउँपालिकाका सचिव हरि अधिकारीले जानकारी दिए। बयक स्थानीय जीवन ज्योति मावि कक्षा १ मा अध्ययरत थिए।उता पूर्व­पश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने बर्दिवास नगरपालिका–१ मा भारतीय लरी ९ट्रकजस्तै लामो गाडी०को ठक्करले एक टेम्पो चालकको मृत्यु भएको छ।

बर्दिवास चोकमै रोकिराखेको ना ३ स २३६१ नंको टेम्पोलाई आरजे ०२ जिवी ३३४७ भारतीय नम्बरको लरीले ठक्कर दिँदा बर्दिवास–१ कै बासिन्दा ४० वर्षीय टेकनारायण श्रेष्ठको शनिबार मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

मृतक श्रेष्ठ टेम्पो चालक रहेका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए।

बिग्रेर रोकिएको लरीलाई चलाउन पछाडिबाट ठेल्ने क्रममा ओरालोतिर हुइँकिएर सडक छेउमा रोकिराखेको टेम्पोलाई ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए। घाइते भएका श्रेष्ठलाई तत्काल बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा पुर्‍याइएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

लरी र त्यसका चालक भारतीय अरबिनकुमार बलायतलाई नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक साहले बताए।

प्रतिक्रिया दिनुहोस्