कोरोनाबाट उपचाररत थप दुई जना संक्रमितको मृत्यु

काठमाडौं, भदौ ११ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । झापा र मोरङका एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

झापाको दमक–३ निवासी ८३ वर्षीय पुरुषमा अत्याधिक खोकी, श्वास फेर्न समस्या तथा ज्वरो आएपछि परीक्षण गर्दा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । उनलाई बी एन्ड सी टिचिङ अस्पताल बिर्तामोडले प्रतिष्ठानमा थप उपचारका लागि रेफर गरेको थियो ।

गत ३ गते अस्पताल भर्ना गरिएका उनको आज बिहान उपचारको क्रममा निधन भएको प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए । उनमा मिर्गौलाको दीर्घकालिन समस्या, उच्च रक्तचाप, मधुमेह र अल्परक्त कोशीकाको समस्या रहेको अस्पतालले जनाएको छ ।

यता, मोरङको बेलबारी ५ की ५६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । गत ९ गते अस्पताल भर्ना भएर कोरोना पुष्टि भएका उनको आज बिहान निधन भएको हो ।

उनको आफन्तसँग सम्पर्क हुन नसकेकाले दीर्घकालिन रोगबारे थाहा हुननसकेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

बिहीबार साँझ पनि प्रतिष्ठानमा उपचाररत सिरहाका एक कोरोना संक्रमितको मृत्यु भएको थियो । प्रदेश २ अन्तर्गत सिरहाको सुखीपुर नगरपालिका ८ का ५८ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको हो । प्रतिष्ठानको मेडिसिन वार्डमा गत भदौ ६ गते भर्ना भएका उनमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्