विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४६ लाख नाघ्यो, ८ लाख ३४ हजारले गुमाए ज्यान

काठमाडौं, भदौ १२ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या २ करोड ४६ लाख नाघेको छ भने ८ लाख ३४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड ४६ लाख ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ८ लाख ३४ हजार ७७३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १ करोड ७० लाख ७६ हजार ५२९ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ८४ हजार ७७८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ६० लाख ४६ हजार ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४५ जार ७०६ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार १२५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या ३७ लाख ६४ हजार ४९३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९७० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख १८ हजार ७२६ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६४ हजार ६९४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७६ हजार ८२६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३३ लाख ८४ हजार ५७५ पुगेको हो ।

नेपालमा बुधबार देशभर गरी १ हजार १११ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ३५ हजार ५२९ पुगेको छ । अहिलेसम्म निको भएर घर फर्किनेको संख्या २० हजार ७३ पुगेको छ । उपचाररत संक्रमित संख्या १५ हजार २७३ छ । त्यसमध्ये ९ हजार ६३ संस्थागत र ६ हजार २१० जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्