थप १ हजार १११ जनामा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा मात्रै ३७७ , ज्यान गुमाउनेको संख्या १८३ पुग्यो

काठमाडौं , भदौ ११ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए ।

यसैबीच काठमाडौं उपत्यकामा आज थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना गरी जम्मा ३७७ जना संक्रमित थपिएका छन् ।यसअघि बुधबार ९हिजो० काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंमा २३० , ललितपुरमा ४७ र भक्तपुरमा २४ जना थिए ।

यसैबीच नेपालमा विहीबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् ।
पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १२ हजार ६२९ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्