कञ्चनपुरमा उच्च ज्वरो देखिएका ४ जनाको मृत्यु, कोरोनाको आशंका

काठमाडौं, भदौ ११ । कञ्चनपुरमा उच्च ज्वरो देखिएका चार बिरामीको मृत्यु भएको छ।जिल्लाको महाकाली नगरपालिकाका उच्च ज्वरो देखिएका चार बिरामीको मृत्यु भएको हो।

दुई साताको अवधिमा उच्च ज्वरो देखिएका चार जनाको मृत्यु भएको महाकाली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जय बहादुर महराले बताए।ज्वरो आएपछि उपचारका लागि दोधारा–चाँदनी प्राथमिक स्वास्थ्य केन्द्र आएका ६ जनालाई अन्यत्र रेफर गरिएको थियो।

अन्यत्र अस्पताल रेफर भएकामध्ये चार जनाको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख महराले बताए।

उनका अनुसार उच्चज्वरो देखिएपछि रेफर गरिएका महाकाली नगरपालिका–६ की १३ वर्षीया पुजा बोगटी, वडानम्बर ५ का ६५ वर्षीय गम्भीर भण्डारी, वडानम्बर ४ का २१ वर्षीय प्रेम चन्द र वडा नम्बर १ का १५ वर्षीय पंकज चन्दको उच्च ज्वरोका कारण मृत्यु भएको हो।

कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिए पनि दोधारा–चाँदनीस्थित अस्पताल पुगेका बिरामीको संक्रमण परीक्षणका लागि स्वाब भने नलिएको खुलेको छ।कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन पर्ने हुन्छ।यद्यपी उनीहरुको स्वाब भने संकलन नगरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए।

यता स्वास्थ्य कार्यालय कञ्चनपुरले भने उच्चज्वरो देखिएपछि कोरोनाको आशंका हुने भएकाले स्वाब संकलन गरेर परीक्षण गर्नु पर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्