कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, विज्ञ भन्छन् -मृत्युदर अब ह्वात्तै बढ्न सक्छ

काठमाडौं, भदौ ११ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या दैनिक बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनयता दैनिक ८ देखि ११ जनाको ज्यान गइरहेको छ। यसैबीच कोरोना संक्रमणबाट नेपालमा एक गर्भवतीसहित थप ८ जनाको मृत्यु भएको छ । पर्सामा ३, ललितपुरमा २, कास्की र रुपन्देहीमा दुई जनाको मृत्यु भएको हो। बुधबार साँझ र बिहीबार बिहानसम्म थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा पाटन अस्पतालमा उपचाररत ललितपुरकी ६५ वर्षीया महिला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखराकी ३२ वर्षीया महिला, लुम्विनी प्रादेशिक अस्पतालमा कपिलवस्तुमा उपचाररत ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया महिला, नारायणी अस्पतालको कोभिड अस्पतालमा उपचाररत बाराकी २३ वर्षीया महिला, पर्साका ७२ वर्षका पुरुष तथा वीरगञ्ज हेल्थ केयरको कोभिड अस्पतालका एक पुरुष छन् ।

पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा कोरोना संक्रमित एक गर्भवतीको मृत्यु भएको छ। ३३ हप्ताकी गर्भवती २३ वर्षीया संक्रमितको आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा। आतुलेश चौरसियाले जानकारी दिए। बाराको हल्दिया घर भएकी ती महिलामा हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको चौरसियाले बताए।

यस्तै, पर्साको धोबीनी गाउँपालिका ३ का ७२ वर्षीय पुरुषको हिजो बेलुकी नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रवक्ता चौरसियाले बताए। उनी भदौ ८ गते अस्पताल भर्ना भएका थिए। यस्तै पर्साकै वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरी बस्ने ६२ वर्षीय पुरुषको मृत्यु पनि मृत्यु भएको छ। अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

साउन ३० गते कोरोना पुष्टि भएका उनको उपचारका क्रममा हिजो बेलुकी मृत्यु भएको अस्पतालले जनाकाएको छ। यसैबीच, ललितपुरको किस्ट अस्पतालमा अर्घाखाँचीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनलाई भदौ ७ गते अस्पतालमा भर्ना गरिएको र ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। स्थायी घर अर्घाखाँची भएका उनी काठमाडौंमै बस्दै आएका थिए। ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। अस्पतालका निर्देशक डाक्टर रवी शाक्यका अनुसार उनको गएराति कोभिड वार्डमा निधन भएको र स्वाब संकलन गरेर परीक्षण गर्दा आज बिहान रिर्पोट पोजेटिभ आएको हो।

स्वास्थ्यमा समस्या आएपछि गत भदौ ९ गतेदेखि उनलाई आइसियुमा राखेर उपचार गरिँदै आइएको थियो। कास्कीको पोखरामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। भदौ ७ गते कोरोना पुष्टि भएकी पोखरा महानगरपालिकाकी ३२ वर्षीया महिलाको आज विहान ८ बजे उपचारका क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । त्यसैगरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको गएराति मृत्यु भएको छ।

उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। उनको उपचारकै क्रममा भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। हिजो बेलुकी स्वास्थ्य थप जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखिए पनि राति ११ बजे मृत्यु भएको हो। त्यस्तै रुपन्देहीमा कोरोना संक्रमणबाट ७० वर्षीया महिलाको मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालको आइसीयुमा उपचारत तिलोत्तमा नगरपालिकार–२ शंकरनगर निवासी उनको आज विहान साढे १० बजे मृत्यु भएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए। उनका श्रीमान पनि संक्रमित भएर सोही अस्पतालमा उपचार गराइरहेको घिमिरेको भनाइ छ। अस्पतालका अनुसार ति महिलालाई साउन २६ गते कोरोना पोजेटिभ देखिएपछि साउन ३१ गते अस्पताल भर्ना भएकी थिइन्।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो भने उनी प्रेसर र थाइराइडले ग्रसित रहेको अस्पतालले जनाएको छ। यता संक्रमण रोकथाम र संक्रमितको उपचारसम्बन्धी व्यवस्थापन राम्ररी गर्न नसके मृतक संख्या ह्वात्तै बढ्न सक्ने चेतावनी विज्ञहरुले दिएका छन्। दैनिक झण्डै दर्जनको संख्यामा संक्रमितको मृत्यु हुन थालेपछि यसले भयावह रुप लिनसक्ने उनीहरु बताउँछन्।

मुख्य गरेर जनघनत्व बढी भएका स्थानमा संक्रमितको संख्या र मृतक संख्या पनि बढेको छ।

प्रतिक्रिया दिनुहोस्