यातायात व्यवसायी महासंघको महाधिवेशन आजदेखी चितवनमा सुरु

काठमाडौं । यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन चितवनको रत्ननगरमा आज देखी शुरु भएको छ । एक समारोहका विच उपराष्ट्रपति नन्दबहादुर पुनले महाधिवेशनको उद्घाटन गरेका छन् । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि चितवन पुगेका छन् । उद्घाटन शत्र पश्चात वेलुकादेखि बन्द शत्र सुरु हुने छ ।

महासंघमा आवद्ध ३ सय सदस्य संघ ÷ समिति र प्रालिहरुबाट करिब २३ सय प्रतिनिधि महाधिवेशनमा सहभागी भएको महासचिव पुण्यप्रसाद सिटौला (सरोज) ले जानकारी दिए । राष्ट्रिय महाधिवेशनबाट महासंघलाई संघीय संरचनामा लैजाने तयारी गरिएको छ ।
अधिवेशनले अध्यक्ष, ३ जना वरिष्ठ उपाध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिव ३ जना, उप–महासचिव ३ जना, सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्ष, १० जना वर्गीय संयोजक र ७ जना प्रदेश संयोजक सहित ८३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । १० जना सदस्य नयाँ कार्यसमितिले मनोनित गर्ने छ ।

महासंघको नयाँ नेतृत्वका लागि डोलनाथ खनाल र योगेन्द्र कर्माचार्यको टिमबीच प्रतिस्पर्धा हुने भएको छ । डोलनाथ खनालले नेपाल लोकतान्त्रिक समावेशी प्यानलका तर्फबाट अध्यक्षको उम्मेदवारी दिएका छन् । उनको प्यानलमा एमाले, माओवादी, मधेस केन्द्रित दल आवद्ध व्यवसायीहरु छन् । लोकतान्त्रिक प्यानलको उम्मेदवार खनालले बुधबार बिहानमात्रै टाँडीमा घोषणा गरेका छन् ।

यस्तै, कांग्रेस समर्थित प्रजातान्त्रिक यातायात व्यवसायी संघबाट योगेन्द्र कर्माचार्य अध्यक्षको उम्मेदवार बनेका छन् । २०३६ सालमा महासंघ स्थापना भएयता कांग्रेस सर्मथक व्यवसायीहरुले लगातार नेतृत्व गर्दै आएका थिए ।

यस अघि पनि चितवनमा महाधिवेशन भएको थियो । यसपाली पनि पुनः चितवनमै भएको छ । महासंघले दावी गरे अनुसार निजी क्षेत्रका व्यवसायीहरुको झण्डै साढे ५ खर्बको लगानी यातायात क्षेत्रमा भएको छ । यातायात क्षेत्रमा करिव २० लाखलाई रोजगारी दिएको छ । यस महासंघमा आवद्ध विभिन्न प्रकारका ४ लाख भन्दा वढि सार्वजनिक सवारी साधन सञ्चालनमा रहेको महासंघका महासचिव एवम् प्रवक्ता पुण्य प्रसाद सिटौला (सरोज)ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्