काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्बियो , कडाइ गर्ने निर्णय

काठमाडौं , भदौ १० । काठमाडौं उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक हप्ता बढाउने निर्णय गरेको हो । यो सँगै अब, काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय चल्न पाउने छैनन् ।

भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ । भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँने भएपछि तीनै जिल्लाका प्रजिअको आजको बैठकले निषेधाज्ञा लम्व्याएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । अब काठमाडौं उपत्यकामा भदौ १७ गते मध्यरातसम्म निषेधाज्ञा जारी रहनेछ ।

कोरोना संक्रमितको दर दैनिक बढिरहेको भन्दै मंगलबार काठमाडौंका मेयरहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए ।

संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३)अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।
थप गरिएको निषेधाज्ञा अवधिमा आईसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ ।

थप गरिएको निषेधाज्ञा अवधिमा आईसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ ।निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ-जाउ गर्न सक्नेछन् ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसलसमेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।साथै एक साता लामो निषेधाज्ञापछि उपत्यकामा कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ भएको उपत्यकाका तीन प्रजिअको निष्कर्ष छ ।

आवागमन बन्द गरेपछि भीडभाड कम भएको र त्यसबाट उपत्यकामा संक्रमणको दर घटेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् ।

यसैबीच उपत्यकामा मात्र संक्रमितको संख्या तीन हजार नाघिसकेको छ । काठमाडौंमा मात्र करिब २८ सयमा संक्रमण पुष्टि भएको छ ।सरकारले देशभर संक्रमण बढ्न थालेपछि निषेधाज्ञाको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्