कोरोनाबाट थप तीन जनाको मृत्यु, नेपालमा मृतकको संख्या १६७ पुग्यो

काठमाडौं , भदौ १० ।कोरोना संक्रमण (कोभिड १९)ले नेपालमात्रै नभई विश्व नै आक्रान्त छ । दिन/प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । नेपालमा पनि कोरोनाका बिरामी ह्वात्तै बढेका छन भने ज्यान पनि दिनकै ठुलो संख्यामा गइरहेको छ ।

यसैबीच विभिन्न स्थानमा कोरोना संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा मृतकको संख्या १६७ पुगेको छ ।ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

यसैबीच उता बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुवै फोक्सोमा निमोनियाको समस्या भएका उनलाई भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएकोमा अर्को दिन कोरोना पोजिटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

नेपालगन्ज मेडिकल कलेजमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल बनेपछि कोहलपुर मेडिकल कलेजमा सारेर भेन्टिलेटरको सहायतामा उपचार भइरहेके अवस्थामा मंगलबार राति साढे एक बजे मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ भने प्रदेश ५ मा २४ पुगेको छ ।

यसैगरि उता विराटनगर महानगरपालिकामा पनि एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत महानगरपालिका–१५ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो ।श्वासप्रश्वासमा समस्या देखिएकोपछि उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरका अनुसार हाल महानगर–११ स्थित माइतमा बसोबास गर्दै आएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको हो ।यता काठमाडौंमा कोरोनाले विस्तारै डरलाग्दो रुप लिन थालेको छ। कोरोना बढेपछि काठमाडौंमा निषेधाज्ञा जारी छ । जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले यस्तो सिफारिस गरेको काठमाडौं जिल्ला प्रशासन स्रोतले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्