चितवनबाट ५२ किलो गाँजासहित ३ जना पक्राउ

काठमाडौं, भदौ ७ । चितवन प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाइै पक्राउ गरेको छ । भरतपुरबाट चनौलीतर्फ जाँदै गरेको बा३ख ७९५८ नम्बरको ट्रक रोकेर चेकजाँच गर्ने क्रम्मा ५२ किलो १२५ ग्राम गाँजासहित तीन जनालाइ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीको विशेष टोलीले शंका लागी ट्रक चेकजाँच गर्दा ट्रकको पछिल्लो भागमा प्लाष्टिकको बोराभित्र लुकाएर राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको जनाइएको छ ।

पक्राउ पर्नेमा ट्रक चालक धादिङ थाक्रे गाउँपालिका–३ का २४ वर्षीय इन्द्रबहादुर तामाङ, ट्रकमा सवार सोही ठाउँका २१ वर्षीय दोर्जे तामाङ र भरतपुर महानगरपालिका–२४ का ६१ वर्षीय पदमबहादुर तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङका अनुसार पक्राउ परेका ट्रक चालकमाथि अनुसन्धान गर्ने क्रममा उक्त गाँजा पदमबहादुर तामाङले मगाएर ल्याएको भन्ने बयान दिएपछि उनलाई घरबाटै प्रहरीले पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्