आज थप ६३४ जनामा कोरोना पुष्टि, १३६ जना संक्रमण मुक्त, मृतकको संख्या १४६ पुग्यो

काठमाडौं, भदौ ६ । नेपालमा आज थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १२ हजार ५१९ नमुना परीक्षण गर्दा ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।

उनका अनुसार जसमा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना रहेका छन् ।मन्त्रालयका अनुसार शनिबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ८ हजार ७०५ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ३ हजार ९१६ जना रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् । यस्तै निको हुनेको कुल संख्या १८ हजार ३५० पुगेको छ ।

यसैबीच हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो । योसँगै मृतकको संख्या १४६ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्