सशस्त्र प्रहरीमा ५ एआइजीको बढुवा, प्रदेशमा खटाउने तयारी

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलमा पाँच डिआईजीलाई एआईजीमा बढुवा गरेको छ। सोमबारको मन्त्रीपरिषद्को बैठकले एआईजी बढुवा गरेको हो। जून निर्णय सरकारले गोप्य राखेको थियो।

बढुवा भएका पाँचै जना एआईजीलाई बुधबार दज्र्यानी चिन्ह लगाइएको छ। सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले दज्र्यानी चिन्ह लगाइदिएका हुन्। उनीहरुको पदस्थापनको निर्णय भएको छैन। एआईजीलाई प्रदेशमा खटाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी बाबुराम पाण्डेले बताए।

 जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारम विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई एआइजीमा बढुवा गरिएको हो।  सात प्रदेशमा एआइजीको कमान्डमा खटाउन भन्दै सरकारले दुई साताअघि दरबन्दी थप गरेको थियो। सशस्त्र प्रहरी केन्द्रीय कमान्डमै चल्ने भएकाले प्रोटोकलको समस्या नहुने सशस्त्रका एक उच्च अधिकारी बताउँछन्।

नेपाल प्रहरीका सात एआईजीको दरबन्दी फाजिलमा राख्ने निर्णय सरकारले गरिसकेको छ। सशस्त्र प्रहरी सेनाजस्तै केन्द्रीय कमाण्डमा चल्ने र प्रदेश सरकार मातहत नहुने भएकाले प्रदेशमा सशस्त्रको एआईजी नै खटाउन लागिएको हो।

प्रतिक्रिया दिनुहोस्