पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं, भदौ ५ । पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले दिएको जानकारीअनुसार पाटन अस्पतालमा उपचाररत दोलखा र सर्लाहीका एक–एक जना कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको हो ।

केन्द्रका अनुसार भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी ३० वर्षीया महिलाको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको हो । ती महिलामा कोभिड(१९ बाहेक पाठेघरवरपर गम्भीर संक्रमणको समस्या पनि रहेको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिए ।

त्यसैगरी साउन ३० गते पाटन अस्पतालमा उपचारका लागि भर्ना भएका सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको केन्द्रले जानकारी दिएको छ ।

ती पुरुषलाई भने कोरोनाबाहेक अन्य कुनै गम्भीर प्रकृतिको रोग नदेखिएको निर्देशक शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्