प्रदेश पहिलो अधिवेशन तय : पहिलो बैठकका लागि कुन प्रदेशमा कस्तो तयारी ?

काठमाडौं– सातवटै प्रदेशमा प्रदेशसभाको पहिलो बैठकको तयारी तीव्र रुपमा थालिएको छ ।

प्रदेश नम्वर १ को पहिलो बैठकआगामी सोमबार बस्ने भएको छ । बैठकस्थल मोरङ जिल्ला समन्वय समितिको हल तयार पार्ने काम भैरहेको छ । सभामुख बस्ने ड्यास बनाउनेदेखि सांसद बस्ने कुर्सी मिलाउनेसम्मका काम बाँकी नै छन् ।

यता प्रदेश नम्वर २ को पहिलो वैठक २१ माघमा डाकिएको छ । प्रदेश सभा केन्द्रीय संसद्को जस्तै बनाउने बताइएको छ । तर, चार दिन बाँकी हुँदा पनि बैठक कक्ष तयार भएको छैन । भुइँमा इँटा ओछ्याएर मंगलबार ढलान गरिएको छ । जनकपुरको कुवा रामपुरस्थित शैक्षिक तालिम केन्द्रको सभाहलमा बैठक बस्नेछ ।

त्यस्तै प्रदेश ३ को प्रदेश सभाको पहिलो बैठक १८ माघमा बस्दै छ । प्रदेश सभाको बैठक क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा तोकिएको छ । बैठकका लागि भवनको रंगरोगन र सजावटको काम भइरहेकोे छ । बुधबार बेलुकासम्म सम्पूर्ण तयारी सम्पन्न हुने प्रदेश कार्यालयका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिनुभएको छ ।

प्रदेश नम्वर ४ को वैठक नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा आगामी सोमबार बस्दै छ । सभाभवन बाहिरदेखि भित्रसम्म झकिझकाउ पारिँदै छ । बैठक बस्ने भवन रंगरोगन गर्नेदेखि फर्निचर मिलाउनेसम्मका काम लगभग सकिएको जनाइएको छ ।

प्रदेश नम्वर ५ को पहिलो बैठक आगामी आइतबारकालागी तय गरिएको छ । बुटवलमा तुलनात्मक रूपमा भौतिक पूर्वाधार पर्याप्त छ, व्यवस्थित गर्नभने अझै वाँकी रहेको वताईएको छ । बैठक कक्षमा सांसदहरू बस्ने कुर्सी बुटवल उपमहानगरले सहयोग गर्ने भएको छ ।

उता ६ नम्वर प्रदेश सभाको पहिलो अधिवेशन आगामी आइतबार वस्ने भएको छ । पहिलो बैठक सिँचाइ डिभिजन कार्यालयको भवनमा बस्दै छ । प्रदेश सभाको त्यसपछिका नियमित बैठक भने शैक्षिक जनशक्ति तालिम केन्द्रको भवनमा बस्नेछन् । भौतिक संरचनाको व्यवस्थापन गर्ने कार्य चलिरहेको प्रदेश सचिवालयले जानकारी दिएको छ ।

त्यसैगरी प्रदेश नम्वर ७ को पहिलो बैठक आइतबार बोलाइएको छ । अस्थायी मुकाम धनगढीमा वस्ने वैठकका लागि भौतिक पूर्वाधार व्यवस्थापनको कार्य चलिरहेको छ ।

बैठक बस्ने जिल्ला समन्वय समितिको हलमासत्तापक्ष र प्रतिपक्ष बस्ने छुट्टाछुट्टै व्यवस्थित ठाउँ, टेबुल, स्तरीय साउन्ड सिस्टमलगायतको व्यवस्थापन कार्य चलिरहेको सात नम्वर प्रदेश सचिवालयले जानकारी दिएको छ । सवै प्रदेशमा वस्ने पहिलो वैठकले प्रदेशको स्थायी राजधानी, प्रदेशको नाम लगाएतका विषयमा निर्णय गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्