कोरोनाको जोखिममा प्रहरी र सशस्‍त्रः संक्रमितको संख्या हजारनजिक पुग्यो

काठमाडौं , भदौ २ । मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या एक हजारनजिक पुगेको छ । पछिल्लो समय लगातार संक्रमित बढ्दै गएपछि संख्या हजारनजिक पुगेको हो । हालसम्म दुवै संगठनका ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरीका ६५४ र सशस्त्र प्रहरीका २९१ जना गरी ९४५ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका २५४ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १२६ जना डिस्चार्ज भएका छन् । प्रहरीमा हाल ४०० जना सक्रिय संक्रमित छन् ।

जसमध्ये प्रहरी प्रधान कार्यालयकै १६३, काठमाडौं उपत्यकाका ३६, प्रदेश १ का २५, प्रदेश २ का ४३, वाग्मती प्रदेशका ४२, गण्डकी प्रदेशका २३, प्रदेश ५ का ५७, कर्णाली प्रदेशका ६ र सुदूरपश्चिम प्रदेशका ५ जना सक्रिय संक्रमित छन् ।

यस्तै सशस्त्र प्रहरीतर्फ १५५ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रदेश १ का ३२, प्रदेश २ का ४४, वाग्मती प्रदेशका ६१ र प्रदेश ५ का १८ जना संक्रमित उपचारमा छन् । पछिल्लो समय प्रहरीभित्र ह्वात्तै संक्रमणको दर बढेको छ। देशमा कोरोना संक्रमितको सङख्या थपिँदै जाँदा ड्युटीमा खटिएका प्रहरीमा समेत संक्रमित देखिन थालेको हो ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीमा समेत कोरोना देखिसकेको छ।

प्रतिक्रिया दिनुहोस्