होला त भदौमा मन्त्री हेरफेर ? क-कसको सम्भावना ?

काठमाडौं , भदौ १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद सुल्झ्याउन ६ नेता सम्मिलित कार्यदल गठन भएलगत्तै मन्त्रिमण्डल पुनर्गठनको भित्री तयारी भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद समाधानका गर्न प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् ।

अध्यक्षद्वयबीच मन्त्रिमण्डलका सदस्य परिवर्तनका विषयमा सहमति जुटेको स्रोतको बताएको छ । त्यसका लागि आज बिहान बस्ने सचिवालय बैठकमा औपचारिक संवाद सुरु हुने बालुवाटार स्रोतले बताएके छ ।

पूर्वप्रधानमन्त्रीबाहेक सचिवालयका सबैजनालाई मन्त्रिपरिषदमा लैजाने तयारी भएपनि नयाँ मन्त्रीको रुपमा सचिवालयका दुईजनाको नाम चर्चामा छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल नयाँ मन्त्री बन्ने चर्चामा छन् । त्यस्तै भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल लगायतका नेताहरु मन्त्री बन्ने एक नेताले जानकारी दिए । वागमती, प्रदेश ५ र प्रदेश १ मध्ये दुईवटा प्रदेशका मुख्यमन्त्री परिवर्तन हुनसक्ने स्रोतको दावी छ । नेकपाभित्र सबै प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्नुपर्ने विषयमा पनि छलफल चलिरहेको छ ।

राष्ट्रियसभा सदस्यमा मनोनित गरेर भएपनि उपाध्यक्ष बामदेव गौतमलाई दोस्रो वरियतामा उपप्रधानमन्त्री बनाउने तयारी गरिएको छ । त्यसका लागि नेताहरु कानुनी परामर्शमा लागेका छन् ।कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएलगत्तै सोही प्रतिवेदनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने बालुवाटारको तयारीपछि सो पार्टीका नेता कार्यकर्तामाझ मन्त्रिमण्डल पुनगर्ठनको चर्चा चल्न थालेको हो । खासगरी पार्टीमा देखिएका आन्तरिक समस्या सम्बोधन गर्ने तथा पार्टी एकता अक्षुण राख्नेगरी प्रस्ताव तयार गर्न कार्यदललाई भनिएको छ ।

नेकपामा पहिलेदेखि नै एक व्यक्ति एक जिम्मेवारीको विषय उठाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालको माग सम्बोधन गर्न पनि दोहोरो जिम्मेवारी नरहनेगरी प्रस्ताव आउनसक्ने सो पार्टीका नेता कार्यकर्ताको भनाइ छ ।

त्यसोे त शक्ति सन्तुलन कायम गर्न केन्द्रीय सरकारका केही मन्त्रीहरु हेरफेर तथा मुख्यमन्त्रीहरुको समेत जिम्मेवारी हेरफेर गरेर जानुपर्ने आवाज नेकपाको सचिवालयमा धेरै पहिलेदेखि नै उठ्दै आएकाले त्यसको सन्तुलन मिलाउन समेत मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने धेरैको आँकलन छ ।समग्र पार्टी पद्धति तथा सरकारका काम प्रभावकारी बनाउन पनि कार्यदलले यसबारे विकल्प पेस गर्ने निश्चित भएको नेकपाका एक स्थायी समिति सदस्यले दावी गरे ।उनले भने, ‘सवै पुरानै मन्त्री र पुरानै मुख्य मन्त्रीहरुलाई निरन्तरता दिने हो भने पार्टीभित्रको विवाद मिल्ने सम्भावना देखिँदैन । त्यसकारण फेरबदल निश्चित छ ।’

उनका अनुसार यसअघि दुई अध्यक्षबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र प्रधामन्त्री दुवै पदबाट राजीनामा दिनु नपर्ने तथा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि मान्य हुनेगरी सहमतिको खाका बनाउने विषयमा दुई अध्यक्षबीच सहमति भैसकेकाले पनि मन्त्रीहरुको हेरफेर निश्चित छ ।

स्रोतका अनुसार दुई अध्यक्षबीच शक्तिको बाँडफाँड गर्ने क्रममा ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने गरी पहिलो खाका बन्नेछ । त्यसपछि महाधिवेशन र मन्त्रिमण्डल पुर्नगठन तथा केही मुख्यमन्त्रीहरु फेरवदल गर्नेगरी कार्यदलले खाका तयार गर्नेछ । स्रोेतका अनुसार २ वर्ष मन्त्री भैसकेका र राम्रो परफमेन्स देखाउन नसकेका झण्डै सातदेखि १० जना मन्त्री परिवर्तन हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्