सीमा क्षेत्रमा हुने अपराध रोक्न नेपाल–भारतका सुरक्षा अधिकारी सहमत

काठमाडौं। सीमा क्षेत्रमा हुने अपराध रोक्न नेपाल र भारतका सुरक्षा अधिकारी सहमत भएका छन् ।

मंगलबार भारतको जौलजिविमा आयोजना गरिएको संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा हुने चोरी–तस्करी, मानव बेचबिखन तथा लागुऔषध ओसारपसार, वन्यजन्तुको अखेटोपहारको अवैध व्यापार रोक्न सहमत भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

बैठकमा जघन्य अपराध गरी अर्को देशमा गएर बस्ने अपराधीकाबारेमा सूचना आदानप्रदान गर्ने, अवैध हातहतियारको कारोबारलाई नियन्त्रण र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मीले सूचना आदानप्रदान गर्ने सहमति भएको उनले जानकारी दिए ।

बैठक एसएसबी ५५ वटालियनको आयोजनामा भएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए ।

जौलजिवीमा रहेको एसएसबी ५५ वटालियनले दार्चुलादेखि बैतडीसम्मको ८५ किलोमिटर सीमा क्षेत्रमा सुरक्षा दिइरहेको भन्दै प्रहरी नायब उपरीक्षक शाहीले बैठकपछि सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रण हुने विश्वास व्यक्त गरे ।

बैठकमा नेपालका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी जोशी, प्रहरी नायब उपरीक्षक शाही, अनुसन्धान अधिकृत वीरेन्द्र कार्की, सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाका निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक विकास थापा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्