आज थप ४६८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६ हजार नाघ्यो

काठमाडौँ , साउन ३१। नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएकोमा ४६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । विगत २४ घण्टामा १२४ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । हालसम्म १७ हजार २०१ जना कोरोनाबाट मुक्त भई घर फर्किएका गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट हालसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार १९३ रहेको छ । मन्त्रालयका अनुसार हाल नेपालका विभिन्न क्वारेन्टिनमा १४ हजार ४४८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्