सुटुक्क छाडिए बलात्कारका मुख्य आरोपी, प्रहरीकै मिलेमतो ,

काठमाडौँ । राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ मा संलग्न मुख्य आरोपीलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गले एक रात थुनामा राखेर सुटुक्क छाडेको तथ्य खुलेको छ ।

प्रेमी र उनका ३ साथीबाट बलात्कृत युवतीको सहयोगमा घटनाको तेस्रो दिन गत शनिबार महानगरीय प्रहरी वृत्त, महाराजगन्जले मुख्य आरोपीलाई पक्राउ गरेको थियो ।

महाराजगन्ज वृत्तमा राखिएका ती युवकलाई दरबारमार्ग वृत्तबाट खटिएको सई नेतृत्वको टोलीले शनिबार साँझ करिब ७ बजे जिम्मा लिएको थियो ।

सोही रात उनको स्वास्थ्य परीक्षण पनि गरिएको थियो । एक रात दरबारमार्ग वृत्तमै राखिएका ती युवकलाई आइतबार बिहानै सुटुक्क छाडिएको थियो ।

प्रहरीले यस घटनालाई गुपचुपराखेको थियो । दरबारमार्ग वृत्तका डीएसपी तिलक भारतीले सोमबार उक्त घटनाबारे आफूकहाँ कुनै केस नआएको दाबी गरे पनि पछि उक्त घटनामा दुवै पक्ष आफैं मिलेको भन्ने सुनेको बताएका थिए ।

गत बिहीबार राति काठमाडौंको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा चार जनाको समूहले एक युवतीलाई ‘सामूहिक बलात्कार’ गरेको घटनामा प्रहरीले उजुरी दर्ता नगरी मिल्न दबाब दिएको रहस्य सोमबार मात्रै खुलेको हो ।

त्यसलगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौंले उक्त घटनाको अनुसन्धान गर्न एसपीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

स्रोतका अनुसार राति आफ्नो प्रेमीसहित होटलमा बस्न गएकी ती युवतीलाई अबेर राति उनीहरू बसेको होटलको कोठामा आएका केटाका ३ जना साथीले सामूहिक बलात्कार गरेका थिए ।

शुक्रबार बिहान करिब ८ बजे ती युवाले युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिए । युवतीले ट्याक्सी चालकलाई आफू बलात्कृत भएको बताउँदै प्रहरीकहाँ लगिदिन आग्रह गरेकी थिइन् । चालकले ती युवतीलाई कमलपोखरी वृत्त पुर्याइदिएका थिए ।

उच्च स्रोतका अनुसार युवतीले नै केटालाई छुटाएर लगेको कागज गरेर घटना थामथुम पार्ने प्रयास गरिएको छ । स्रोतका अनुसार दरबारमार्ग वृत्तका मुद्दा शाखाका इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीसहित अर्का एक सईले आर्थिक लेनदेन गरी मिलाउन भूमिका खेलेका थिए ।

ठकुरी तिनै इन्स्पेक्टर हुन् जो एक वर्षअघि मात्रै दरबारमार्ग वृत्तबाट सरुवा भएर कालिमाटी वृत्त पुगेका थिए । कालिमाटीबाट सरुवा भएर बालाजु वृत्त पुगेका उनी पहुँच प्रयोग गर्दै करिब ३ महिनाअघि काजमा दरबारमार्ग वृत्त फर्केका थिए ।

घटना सार्वजनिक भएलगत्तै प्रहरी प्रधान कार्यालयले ठकुरीलाई छानबिनका लागि भन्दै महाराजगन्जस्थित २ नम्बर गणमा तानेको छ । प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार सामूहिक बलात्कार घटनाबारे प्रहरी प्रधान कार्यालयले गम्भीर चासो राखेर अनुसन्धान थालिसकेको छ ।

बलात्कारमा परेकी २२ वर्षकी युवती करिब ७ महिनाअघि एक युवकसँग फेसबुकमार्फत सम्पर्कमा पुगेकी थिइन् । त्यही चिनजानी भेटघाट हुँदै प्रेममा परिणत भएको थियो । प्रेमीको भर परेर उनी गत शुक्रबार होटलमा बस्न पुगेकी थिइन् ।

उच्च स्रोतका अनुसार घटनामा मुछिएका चारै जना युवा फरार छन् । प्रहरीले तीमध्ये दुईको पहिचान गरे पनि त्यो खुलाएको छैन । प्रहरी परिसर, काठमाडौंले एसपी रामदत्त जोशीको नेतृत्वमा बनेको छानबिन समीतिले घटनाबारे छानबिन थाले पनि कसैसँग बयान सुरु गरिसकेको छैन ।  अाजकाे कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्