नारायणी नदीमा पानीको बहाब बढ्यो, स्थानीयलाई सतर्क रहन आग्रह , तीन दिन देशभर वर्षा हुने

काठमाडौं, साउन ३१ । नारायणी नदीको पानीको बहाब बढ्दै गएको छ । नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । चितवनमा वर्षा नभएपनि देशका अन्य जिल्लाहरुमा निरन्तर वर्षा भएका कारण यसको असर नारायणी नदीमा देखिएको हो ।

जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार देवघाट र नारायणगढ क्षेत्रमा नदीको सतह बढेर खतराको तहमा पुगेको छ । अहिले देवघाट क्षेत्रमा पानीको सतह ७।६ मिटर पुगेको छ । यस क्षेत्रमा नदीको सतह ७।३ मिटर नाघेमा सतर्कता तह पार गरेको मानिन्छ । ८ मिटरलाई खतराको तह मानिन्छ । सतर्कता विन्दु नाघेपछि नदी वरपर रहेका बासिन्दा र पश्चिम चितवनका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले जानकारी दिए ।

नारायणगढ क्षेत्रमा पानीको सतह ११।३४ मिटर पुगेको छ । यस क्षेत्रमा ११ मिटर सतहलाई सतर्कता तह मानिएको छ । नारायणी नदीमा पानीको बहाब अहिले निरन्तर बढिरहेको छ । भट्टराईका अनुसार नारायणी नदीको तह खतरातर्फ उन्मुख भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । उनले नागरिकलाई नदी आसपासमा नजान आग्रह गर्दै सचेतना अपनाउन समेत अपिल गरेका छन् ।

हरेक वर्ष नारायणी नदीमा पानीको बहाब बढ्दा नदी वरपरका क्षेत्र र चितवनको पश्चिम क्षेत्र बढी डुबानमा पर्ने गरेको छ । यसैबीच पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रेहको मौसमविद् राजु प्रधानाङ्गले बताए । “उक्त रेखा नेपालको पश्चिमी भूभाग नजीक रहेकाले पश्चिममा बढी वर्षाको सम्भावना छ”, मौसमविद् प्रधानाङ्गले भने ।

हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै वाग्मती, गण्डकी, प्रदेश नं ५ सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ र अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव ७ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्