ओली–प्रचण्डबीचको आजको छलफल सकियो, भयो यस्तो सहमति

काठमाडौं, साउन ३० । पछिल्लो समय नेकपाभित्र देखिएको गतिरोध अन्त्य गर्नका लागि ओली–प्रचण्डबीच छलफल भइरहेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हिजो र आज छलफलको वार्ता सकिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा दुई अध्यक्षबीच समस्या समाधानका लागि गठन गरिएको कार्यदलले बुझाउने प्रस्तावमा छलफल अघि बढाउने समझदारी भएको छ ।कार्यदलले दुई तीन दिनमा नै पार्टी भित्र देखा परेको समस्या समाधानको खाकासहितको प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावमाथि अध्यक्षहरुले छलफललाई अघि बढाउने वालुवाटार स्रोतले जनाएको छ ।

दुई अध्यक्षको छलफल सकिए पनि कार्यदलका सदस्यहरु विष्णु पौडेल, जनार्दन शर्मा र विष्णु पौडेल अहिले वालुवाटारमा नै रहेको र छलफलमा रहेको स्रोतले जनाएको छ ।६ सदस्यीय कार्यदललमा अध्यक्ष ओलीका दुई जना, अर्का अध्यक्ष दाहालका दुई जना र बरिष्ठ नेता माधव नेपालका दुई जना सदस्यहरु राखिएका हुन् ।जसमा ओलीका तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल हुन भने दाहालका तर्फबाट पूर्वमाओवादीका जनार्दन शर्मा र पम्फा भुषाल रहेका छन् । त्यसैगरी नेपालका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे रहेका छन् ।

आजको दुई अध्यक्षबीचको छलफलले पार्टीभित्र लामो समयदेखि चर्किएको अन्तरद्वान्द समाधानमा एक कदम दिशा अघि बढेको देखिएको छ । यसैबीच दुई अध्यक्षकै छलफलबाट निकास दिनुपर्ने बताउँदै आए पनि प्रचण्ड सहमत नभएपछि नेपाल पक्षको समेत समान हैसियत रहने गरी कार्यदल बनाउन अध्यक्ष ओली तयार भएका छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा दुई अध्यक्षको निर्णयबाट भएकाले अहिले पनि त्यसैअनुसार मात्र बढ्नु पर्ने अडानबाट ओली पछि हटेका छन्।

दुई अध्यक्षसहित दोस्रा तहका नेताहरुको छलफलबाट निकास ननिस्किएपछि कार्यदल नै बनाएर विवाद समाधानको उपाय खोजिएको हो। एक सदस्यका अनुसार कार्यदललाई सहमतिको खाका तयार पार्ने जिम्मेवारी दिइएको छ। विवादको गतिरोध अन्त्य गर्न ६ सदस्यीय कार्यदल गठन भएको छ। असार १० गते सुरु भएको स्थायी समिति बैठकमा दाहाल नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

असार १८ गतेदेखि स्थगित हुँदै आएको स्थायी समिति बैठक साउन १३ गते ओलीले एक पक्षीय रुपमा स्थगित गरेपछि अनिश्चित हुँदै आएको छ। ओलीले दुवै पदबाट राजीनामा नदिने अडान राखिरहेका छन् भने दाहाल नेपाल उनलाई प्रधानमन्त्री पदबाट हटाउने रणनीतिबाट अझै हटेका छैनन्।

प्रतिक्रिया दिनुहोस्