टिचिङमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, न्यूरोडका सबै पसल बन्द

काठमाडौं, साउन ३० । शिक्षण अस्पताल महाराजगञ्जमा थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ।गत बुधबार इमर्जेन्सी वार्डमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरूको सम्पर्कमा आएका लगभग १ सय स्वास्थ्यकर्मीको स्वाब संकलनका लागि पठाइएको थियो।

तीमध्ये थप ४ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका कोभिड.१९ व्यवस्थापन संयोजक सन्तकुमार दासले जानकारी दिए।‘रिपोर्ट आउने क्रम जारी छ,’ उनले भने,’ संक्रमितलाई अस्पतालमा राखिएको छ। रिपोर्ट नआएकाहरू घरैमा बसिरहेका छन्।’योसँगै शिक्षण अस्पतालमा २२ जनालाई कोरोना पुष्टि भएको छ।स्वाब परीक्षण गरिएका सबैलाई कोरोना देखिएको अवस्थामा अस्पतालले नै उपचारको व्यवस्था मिलाउने संयोजक दासले बताए।

‘हाम्रा कर्मचारीलाई अप्ठ्यारो पार्दैनौं, जोखिम अनुमान गरेर व्यवस्थापनमा लागिरहेका छौं,’ उनले भने।हाल अस्पतालको इमर्जेन्सी वार्ड सिल गरिएको छ।

उता व्यापारीमा कोरानो देखिएपछि न्यूरोडका पसल बन्द गरिएका छन् ।काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको हो ।

व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडानम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो ।

शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ ।

वडा कार्यालयले विज्ञप्ति जारी गर्दै न्यूरोड क्षेत्रमा कोरोना संक्रमण गर्नु आवश्यक रहेकाले साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध शालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध शालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्