कोरोनाको जोखिममा प्रहरी:: मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं, साउन २९ । कोरोना भाइरस सङ्क्रमणका कारण प्रहरी पनि जोखिममा परेको छ । विभिन्न ठाउँमा रहेका प्रहरीमा पनि पछिल्लो समय संक्रमण बढेको छ । उता हेटौँडामा समुदायस्तरमा सङ्क्रमण फैलिएसँगै यसको जोखिममा प्रहरी पनि परेको हो ।

यसैबीच हेटौँडाका विभिन्न स्थानमा कार्यरत १६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मातहत रहेको हटिया र बसपार्कमा कार्यरत १३ जना प्रहरीमा सङ्क्रमण पुष्टि भएको उनले बताए ।

यता बिहीबार मौ १० प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये तीन जना प्रदेश प्रहरी कार्यालय हेटौँडाका रहेको स्वास्थ्यकर्मीले बताएका छन् । बिहीबार १० जना र यसअघि ६ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो । मकवानपुर जिल्लामा बिहीबार एकैदिन अहिलेसम्मकै धेरै ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये अधिकांश हेटौँडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । उपमहानगरपालिका क्षेत्रमा मात्र १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हेटौँडा ९ का सात जना, हेटौँडा ५ का चार जना, हेटौँडा ४ का चार जना, हेटौँडा २ का एक जना, हेटौँडा १० का एक जना र हेटौँडा १३ का एक जना गरी १८ जनामा सङ्क्रमण देखिएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए।

त्यसैगरी भीमफेदी गाउँपालिकामा तीन जना, थाहा नगरपालिकामा दुई जना, बकैया गाउँपालिकामा दुई जना, चितवन ठेगाना भएका एक जना, काठमाण्डौ ठेगाना भएका एक जना र १० जना प्रहरी गरी १९ जनामा कोरोना सङ्क्रमण देखिएको चौलागाईंले बताए । चितवन र काठमाण्डौ घर भए पनि कामको सिलसिलामा मकवानपुरमा बस्दै आएका दुई जनालाई पनि कोरोना सङ्क्रमण भएको हो । मकवानपुरमा अहिलेसम्म एक सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्