नम्बर ५ बाट शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का, बाँकी प्रदेशमा को–को ?

काठमाडौं– प्रदेश नम्बर ५ बाट नेकपा एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।  एमाले स्थायी कमिटी बैठकले  प्रदेश संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने  निर्णय गरेपछि पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।

एमाले ५ नम्बर प्रदेशको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा यसअघि नै पोखरेललाई संसदीय दलको नेताका रुपमा चयन गरिसकेको छ ।

मुख्यमन्त्रीमा माओवादी केन्द्रसँग भएको भागबण्डा सहमतिअनुसार ४ प्रदेशमा एमालेले सरकार बनाउने छ । एमाले उपाध्यक्ष गौतमले मंगलबारको स्थायी कमिटी बैठकले  प्रदेश नम्बर १,३, ४ र ५ मा संसदीय दलको नेता चयन हुने नै मुख्यमन्त्री बन्ने निर्णय गरेको बताए ।

एमाले प्रदेश नम्बर ५ को संसदीय दलको नेतामा नेता शंकर पोखरेल यसअघि नै चयन भइसकेकाले उनी मुख्यमन्त्री बन्ने पक्का भएको हो । तर,  प्रदेश नम्बर १, ३ र ४  मा  संसदीय दलको नेता चयन हुन नसक्दा को मुख्यमन्त्री बन्ने भन्नेमा टुंगो लागेको छैन  ।

प्रदेश नम्बर ५ मा जम्मा ८७ सिटमध्ये एमाले एक्लैले ४१ सिट जितेको छ । माओवादीले जितेको २० सिट थपिँदा गठबन्धनको ६१ सिटसहित भारी बहुमत पुग्ने भएकाले पोखरेल मुख्यमन्त्री बन्ने निश्चित बनेको हो ।
कुन प्रदेशमा को आकांक्षी ?
प्रदेश नम्बर २ मा मधेसी गठबन्धनको सरकार बन्ने निश्चित रहँदा बाँकी प्रदेशमा भने  वाम गठबन्धनको सरकार बन्नेछ । जसमा प्रदेश नम्बर ६ र ७ मा माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकारको गठन हुनेछ । तर आकांक्षी धेरै हुँदा ५ नम्बर प्रदेशमा बाहेक अरु प्रदेशमा कसको नेतृत्व हुने भन्नेमा टुंगो लाग्न सकेको छैन ।

प्रदेश नम्बर १ मा एमालेको नेतृत्व  हुने सहमति भएपनि  दुई जना आकांक्षी रहेका छन् ।  नेता शेरधन राई र भीम आचार्य मुख्यमन्त्रीको आकांक्षी रहेका छन् ।

यस्तै प्रदेश नम्बर २ मा मधेसी गठबन्धनका ५ जना आकांक्षी रहेका छन् । संघीय समाजवादी फोरमका विजय यादव , लालबाबु रावत र शैलेश शाह तथा राजपाबाट जीतेन्द्र सोनल र मनिष सुमन दाबेदार छन् ।

यसैगरी प्रदेश नम्बर तीनबाट एमाले नेताद्वय अष्ठलक्ष्मी शाक्य र  राजेन्द्र पाण्डे मुख्य आकांक्षी रहेका छन् । यसो त सानुकुमार श्रेष्ठ तथा केशब स्थापित समेतले मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन् ।

प्रदेश नम्बर ४ बाट एमाले नेता पृथ्वीशुब्बा गुरुङ तथा किरण गुरुङ आकांक्षी रहेका छन्  भने प्रदेश नम्बर ६ बाट माओवादी केन्द्रका महेन्द्र बहादुर शाही र नरेश भण्डारी मुख्यमन्त्रीका दाबेदार छन् ।

यसैगरी प्रदेश नम्बर ७ बाट माओवादी केन्द्रकै वीरमान चौधरी र झपट बोहरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्