नेकपा प्रदेश सांसदसहित ८ जनालाई कोरोना, सुर्खेतमा थप १९ जनामा पुष्टि

काठमाडौं, साउन २८ । धरानमा स्वाब संकलन गरिएकाहरुमध्ये थप ८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ। ती मध्ये धरानका मात्र ६ जना हुन् भने २ जना धरान बाहिरका हुन्। धरान बाहिरका कोरोना संक्रमितमा नेकपाका तर्फबाट प्रदेशसभा सदस्य कुसुम श्रेष्ठ र उनका श्रीमान् हुन्। राजनीतिक कार्यथलो धनकुटा जिल्ला भएपनि उनीहरु इटहरी ४ मा बस्छन्। उनीहरुले साउन २४ गते धरान १५ मा रेण्डम मास टेष्टिङको क्रममा स्वाब संकलन हुँदै गर्दा स्वाब दिएका थिए। उनीहरुको गाडी चालकको भने रिपोर्ट नेगेटिभ आएको छ।

यस्तै, अन्य ६ जना भने धरान उपमहानगरपालिकाको विभिन्न वडाका व्यक्तिहरु भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। उनका अनुसार वडा नं १५ का ३३ बर्षको पुरुष, ६९ बर्षको पुरुष र ३७ बर्षकी महिला छिन्। यस्तै, वडा नं १६ का२५ बर्षको पुरुष र २१ बर्षको पुरुष पोजेटिभ आएको छ भने वडा नं ८ को ३८ बर्षको पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको छ। उता सुर्खेतको वीरेन्द्रनगरमा बुधबार १९ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतनिधी वाग्लेले जानकारी दिए ।

बुधबार संक्रमण पुष्टि भएका १९ जनामध्ये ८ जना भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् । ६ जना कन्ट्याक्ट ट्रेसिङ्मा परेका र ५ जना समुदाय स्तरमा गरिएको परीक्षणमा संक्रमण देखिएको प्रमुख वाग्लेले जानकारी दिए ।

केही दिन अगाडि सुर्खेतमा सरकारी कार्यालयका ४, हलुका सवारी चालक, पर्साबाट आएका ३ कामदार, २ सैलुन कामदारमा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्