कोरोनाको हटस्पट बन्दै वीरगञ्ज, थप ५५ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन २७ । कोरोनाको हटस्पट बन्दै गएको वीरगन्जमा आज ५५ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितहरुमा ३ जना बाराका र बाँकी ५२ जना पर्साका रहेका छन् ।

वीरगन्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५ बर्षीया बालिका र ७ वर्षका बालकसहित जम्मा ५५ जना नयाँ संक्रमित थपिएको अस्थायी कोभिड अस्पताल गण्डकका इन्चार्ज डा निरज कुमार सिंहले जानकारी दिनुभयो ।

थपिएका संक्रमितहरुमा १८ जना महिला र ३७ जना पुरुष रहेका छन् । नयाँ थपिएका संक्रमितबाहेक यसअघि नै पर्सामा १ हजार ३८ जना संक्रमित पुष्टि भइसकेका छन् ।

आज थपिएका संक्रमितलाई भने प्रदेश २ को सामाजिक विकास मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको नारायणी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्