गोंगबु हत्याकाण्ड: चितवनबाट तीन जना पक्राउ: आरोपीको प्रारम्भिक बयान- बेहोस बनाएर हत्या गरेँ

काठमाडौं, साउन २७ । काठमाडौंको गोंगबु मृत भेटिएका व्यक्तिको हत्या आरोपमा चितवनबाट ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) नान्तीराज गुरुङको नेतृत्वमा खटिएको टोलिले सोमबार राती पूर्वी चितवनको रत्ननगर १५, माधवपुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कल्पना मुडवरी, निता मुडवरी र निरज मुडवरी रहेका छन् । पक्राउ पर्नेहरुको स्थायी घर चितवनको कालिका ८, शक्तिखोर रहेकोमा हाल काठमाडौंको सामाखुसीमा अस्थायी रूपमा बस्दै आएका थिए । उनीहरुलाई थप अनुसन्धानको लागि काठमाडौं पठाईने एसपी गुरुङले जानकारी दिए ।

प्रहरीले आइतबार हत्यापछि जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा शव फेला पारेको थियो ।काठमाडौंको गोङबुमा प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहानै मृत व्यक्तिको फोटो सार्वजनिक गरेपछि मृतकको पहिचान भएको थियो ।

प्रहरीले दिउँसो करिब तीन बजे सुटकेसमा शव फ्याँकिएको करिब ५० मिटर परको दुरीमा साढे तीन तले हरियो घरमा हत्या भएको निष्कर्ष निकालेको हो । प्रहरी स्रोतका अनुसार शव भेटिएको स्थानभन्दा ५० मिटर पर नव ज्योतिमार्ग स्थित सो घरको दोस्रो तलामा दाङका कृष्णबहादुर बोहोराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

यता कल्पनाले शनिबार राति आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘आफैले मारेको’ प्रहरीसँगको प्रारम्भिक बयानमा बताएकी छिन् । प्रहरीसँग उनले हत्या गर्न कसैको सहयोग नलिएको समेत दावी गरेकी छिन् ।

कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट ९नशा दिने चक्की० खुवाएको र बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाको दावी छ ।

उनले दावी गरेपनि प्रहरीको अनुसन्धानबाट सो तथ्य पुष्टि हुन बाँकी छ ।

मृत्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको काटेर सुटेकश र जेब्रा झोलामा लगेर सडक किनारमा फालेको कल्पनाको भनाइ छ ।

यसैबीच प्रहरीले गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा रहेको उनको फ्ल्याटबाट ह्यामर र मासु काट्ने प्रयोग गरिने दाउ बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाले मंगलबार घटनाबारे जानकारी दिन संयुक्त पत्रकार सम्मेलन गर्दैछ ।

शव भेटिएको साँझ उनी एम्बुलेन्समा चितवन गएकी थिइन । छोरा–छोरीसहित चितवन शक्तिखोरस्थित घरमा गएकी उनलाई चितवन प्रहरीसँगको समन्वयमा काठमाडौँ प्रहरीले टाँडीबाट पक्रेर काठमाडौँ ल्याएको छ ।

कल्पनालाई चितवन लैजाने एम्बुलेन्स चालकलाई समेत प्रहरीले मकवानपुरको हेटौंडाबाट नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्