वैशाखयता विपद्का घटनामा परि २३१ जनाको मृत्यु, ५६ बेपत्ता

काठमाडौं, साउन २१ । वैशाखयता विपद्का घटनामा परी २३१ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १ वैशाखयता विपद्का घटनामा परी २३१ जनाको मृत्यु भएको जनाएको छ । पहिरो, बाढी र चट्याङका घटनामा परी उनीहरूको मृत्यु भएको हो। प्राधिकरणका अनुसार यो वर्ष विपद्का घटनामा परी ५६ जना बेपत्ता भएका छन् भने ३०९ जना घाइते भएका छन्।

यो वर्ष १ वैशाखदेखि २० साउनसम्म पहिरोका घटनामा परी १७७ जनाको मृत्यु, ४४ जना वेपत्ता र १४५ जना घाइते भएका छन्। सोही अवधिमा बाढीका घटनामा परी ७ जनाको मृत्यु, १२ जना बेपत्ता र ३ जना घाइते भएका छन्। यो अवधिमा चट्याङ् लागेर ४७ जनाको मृत्यु भएको छ भने १६१ जना घाइते भएका छन्।

३० जेठबाट मनसुन शुरू भएयता नेपालमा पहिरोका घटनामा परी १७५ जनाले ज्यान गुमाएको प्राधिकरणले जनाएको छ। मनसुन शुरू भएयता पहिरोका घटनामा परी ४४ जना बेपत्ता र १४४ जना घाइते भएका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार मनसुन शुरू भएयता बाढीका घटनामा परी पाँच जनाको मृत्यु, ११ जना बेपत्ता र एक जना घाइते भएका छन्। सोही अवधिमा चट्याङ लागेर ४२ जना घाइते भएका छन्।

मनसुन शुरू भएयता विपद्का घटनामा परी १९७ जनाको मृत्यु, ५५ जना बेपत्ता र १८७ जना घाइते भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्