सुनको भाउले तोलाकै नाघ्यो एक लाख रुपैयाँ
काठमाडौं, साउन २१ । सुनको भाउ एक तोलाको एक लाख रुपैयाँ नाघेको छ ।आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तोलाकै एक लाख हुँदै सुनको मोलले आकाश छोएपछि अब सर्वसाधारणका लागि सुन हेर्ने धातुमै सीमित हुने भएको छ ।
महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ प्रति औंस ४० डलरले बढेकाले त्यसको असर स्थानीय बजारमा पनि परेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढ्नु, सुनको उत्पादनमा कमी हुनु, ठूला देशबीच द्वन्द्व बढ्नु तथा कोरोना संक्रमणका कारण अस्थिरता बढ्दा भाउ बढेको उहाँको भनाइ छ ।
चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ बढेर तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्