काठमाडौंमा ६२ सहित २५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार ९ पुग्यो

काठमाडौं, साउन २० । नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार २६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।
काठमाडौं उपत्यकामा मंगलबार ६२ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जना संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए ।

उनका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका ४८ जना, भक्तपुरका १३ जना र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

हिजो उपत्यकामा ५१ जना संक्रमित थपिएका थिए। त्यसैगरी आइतबार ३१ जना संक्रमित थपिएका थिए।

प्रतिक्रिया दिनुहोस्