भयावह बन्दै कोरोना, अख्तियारमा कार्यरत १५ जनामा संक्रमण पुष्टि

काठमाडौँ , साउन २० । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकाभित्र संक्रमण फैलदै गएपछि सरकार गम्भीर भएको छ । सवारीको जोर बिजोर प्रणाली लागू गर्ने देखि पुनः लकडाउने गर्ने तयारी समेत भएको छ ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १८२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले १५ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिँदै  भने, ‘संक्रमित हुनेहरुमा सुरक्षाकर्मीको संख्या धेरै छ ।’

त्यस्तै मंगलबार स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत सबैको स्वाब संकलन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्