पर्सामा सांसद् यादवसहित थप ६४ जनामा कोरोना पुष्टि

काठमाडौं, साउन १७ । पर्साबाट निर्वाचित सांसद् प्रदीप यादवसहित थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा एक डाक्टर, एक स्वास्थ्यकर्मी, रौतहटका दुई जना र बाराका एक जना छन् । बाँकी सबै पर्साकै रहेको नारायणी अस्पताल वीरगञ्जले जनाएको छ । संक्रमित हुनेहरू १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका रहेका छन् ।

पर्साबाट निर्वाचित सांसद् यादवले शुक्रबार कोरोना परीक्षण गरेका थिए ।

वीरगञ्ज पुगेका सांसद् यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमा पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।

‘मैले आफ्नो पीसीआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन। आफूलाई आइसुलेट गरेर अहिले आराममा छु,’ सांसद यादवले फेसबुकमा लेखेका छन् ।

कोरोना नियन्त्रणका लागि सीमामा आवतजावतमा रोक लगाउन पर्ने तथा वीरगञ्ज क्षेत्रमा ५ सय शैय्याको अस्पताल निर्माण गर्नुपर्ने उनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्