राष्ट्रियसभामा २४ जना निर्विरोध निर्वाचित, ३२ सिटका लागि ५२ जना मैदानमा

काठमाडौं । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन आयोगले सोमबार चुनाव चिह्न प्रदान गरेको छ ।

५६ सिटका लागि चुनाव हुने भएपनि २४ जना निर्विरोध निर्वाचित भइसकेकाले ३२ सिटका लागि प्रतिस्पर्धामा रहेका ५२ जनालाई चुनाव चिह्न प्रदान गरिएको हो ।

प्रदेश नम्बर–१ मा तीनजना महिला र अरु तीन गरी ६ जना निर्विरोध भइसकेका छन् भने सो प्रदेशमा दलित र अपांगता तथा अल्पसंख्यक कोटाका एकरएकजनाका लागि निर्वाचन हुनेछ ।

प्रदेश नम्बर–२ मा भने ८ ओटै सिटमा निर्विरोध भइसकेका छन् ।

यस्तै, प्रदेश नम्बर–३ मा ८ ओटै सिटमा मतदान हुनेछ भने प्रदेश नम्बर–४ मा अपांगता वा अल्पसंख्यक एक सिटमा निर्विरोध भएको छ भने सात सिटका लागि मतदान हुनेछ ।

यस्तै प्रदेश नम्बर–५ मा तीनजना महिला निर्विरोध निर्वाचित भएका छन् भने दलित एक, अपांगता वा अल्पसंख्यक एक र खुलातर्फका तीनजना गरी जम्मा पाँचजनाका लागि मतदान हुनेछ ।

प्रदेश नम्बर–६ मा सबै पदमा मतदान हुनेछ भने प्रदेश नम्बर–७ मा तीनजना महिला र तीनजना खुलातर्फका गरी ६ जना निर्विरोध भएका छन् । यहाँ दलित एक र अपांगता भएका वा अल्पसंख्यक एक गरी दुईजनाका लागि मतदान हुने आयोगले जनाएको छ ।

निर्वाचन चिह्न प्रदान गरिएकाले उम्मेदवारहरुले सोमबारैदेखि प्रचार–प्रसार सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्