स्थायी समितिको बैठकलाई नियमित गर्नुपर्ने प्रचण्ड–माधव निष्कर्ष
काठमाडौं , १२ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको अन्तरद्वान्द झन उचाइमा पुगेको छ । प्रचण्ड–माधव नेपाल पक्षले छलफल र वार्ता भईरहको छ । झण्डै महिना दिन हुँदा पनि स्थाई समितिको बैठक बस्न सकेको छैन । प्रधानमन्त्री तथा अध्यक्ष केपी शार्मा ओलीले स्थायी कमिटीलाई पटक पटक स्थगित गर्दै आएका छन् । यसले गर्दा झन पार्टीमा अनिर्णको बन्दि बनेको निष्कर्ष निकाल्दै प्रचण्ड–माधव नेपाल पक्षले स्थायी समितिको बैठकलाई नियमित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
१६ असारको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति नयाँ मुद्दा बन्यो । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना मात्र गरेनन्, राजीनामा मागे ।
दुई दिनमा २३ नेताले बोले, जसमा २२ जनाले ओलीको विपक्षमा मत राखेका थिए । त्यही मुद्दाका कारण बैठक प्रभावित भयो । स्थायी कमिटी रोखेर दुई अध्यक्षबीच पटकपटक वार्ता भयो, सचिवालय बैठक बस्यो, प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशनको प्रस्ताव गरे । तर सहमति जुटेन ।
ओली अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने र प्रचण्ड र माधवकुमार नेपाल पक्ष दुईमध्ये एक पद छाड्नुपर्ने अडानमा टसको मस नभएपछि बैठक नै प्रभावित बन्यो ।
अडानमा बसिरहँदा स्थायी कमिटी बैठक नै अगाडि बढ्न गाह्रो हुने देखेपछि प्रचण्ड–माधव नेपाल पक्ष पूर्वनिर्धारित एजेण्डामा फर्किन तयार भएको हो ।
यसबारे सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशबीच छलफल भएको थियो । त्यसअघि अध्यक्ष प्रचण्डले उपाध्यक्ष बामदेव गौतमसँग छुट्टै छलफल गरेका थिए ।
नेकपा स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको त्यो अभिव्यक्तिबारे कोही बोल्न चाहनुहुन्छ भने बोल्न दिइन्छ । नभए कोभिड–१९, सरकार र पार्टीको कामको समिक्षा, एमसीसी लगायतका नियमित एजेण्डामा छलफल गर्ने कुराकानी भएको छ ।’
स्थायी कमिटी सदस्य रघुजी पन्तले पनि भइरहेको छलफलमा केही नेताले बोल्न बाँकी नै रहेको र अरु एजेण्डामा आफूहरुले पनि धारणा राख्न बाँकी रहेकाले छोटो छोटो समय दिएर पनि सबै एजेण्डामा छलफल गर्ने पर्ने बताए ।
तत्कालको लागि प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने माग तत्काल टरेको तर एजेण्डा भने सकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्