चार दिन ठूलो वर्षाको सम्भावना, देशैभर उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, साउन १२ । आजदेखि शुक्रबारसम्म देशभर ठूलो वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैलाई आग्रह गरेको छ ।

विभागले ‘विशेष मौमस तथा बाढी बुलेटिन’ जारी गर्दै आज अपराह्नबाट १६ गतेसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहिरहने तथा पर्याप्त जलवाष्पयुक्त हावा पनि भित्रिरहने सम्भावना रहेकाले ३(४ दिनसम्म मनसुन सक्रिय हुने जानकारी दिएको हो ।

देशैभर उच्च सतर्कता
विपदबाट हुने सम्भावित क्षति रोक्न ७७ वटै जिल्लामा उच्च तयारी थालिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ७७ वटै जिल्लामा परिपत्र गरेर तयारीमा लाग्न निर्देशन दिइएको हो ।

‘सबै जिल्लाका जोखिम क्षेत्र पहिचान भएको ठाउँमा अग्रिम टोली तयारीमा राख्न र आवश्यक उद्धार तथा राहत सामग्री दुरुस्त राख्न भनिएको छ’, प्राधिकरणका प्रमुख अनिल पोखरेलले भने, ‘सम्भावित क्षति रोक्न क्षमताले भ्याएसम्मको उच्च तयारी गरिरहेका छौं ।’ सोमबार साँझदेखि विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने भएकाले क्षति रोक्न आवश्यक तयारी थालिएको र सर्वसाधारणलाई जोखिम क्षेत्रमा नबस्न भनिएको छ ।

यसअघि दुईपटक यसरी नै लगातार भारी वर्षा भइसकेको छ । पोखरेलका अनुसार स्थानीय तह र प्रदेश सरकारसँग समेत समन्वय गरेर विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्न अनुरोध गरिएको छ ।

विभागका अनुसार साउन १३ देखि १५ गतेसम्म विशेषगरी गण्डकी, कर्णाली, सुदूरपश्चिम, प्रदेश र प्रदेश नं ५ का मध्य पहाडी भूभाग भई बग्ने नदीमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्ने सम्भावना छ ।

प्रदेश १ वाग्मती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने भोटेकोशी, वाग्मती, नदीमा समेत बहाव सामान्य बढ्ने तथा ती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने अधिकांश साना नदीनाला तथा खहरे खोलामा आकस्मिक बहावसमेत आउन सक्ने पूर्वानुमान छ ।

त्यस्तै प्रदेश १, २, ५ र सुदूरपश्चिम प्रदेशको चुरे भई बग्ने केही मझौला तथा साना खोलानालामा समेत बहाव बढ्ने कुनै स्थानमा आकस्मिक बहाव आउने तराई र चुरे क्षेत्रका होचा क्षेत्र डुबानमा पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

विभागले बाढी र मौसमसम्बन्धी दैनिक बुलेटिन हेर्न, बाढी पूर्वसूचना र मौसम पूर्वानुमानका साथै मोबाइलमा आउने एसएमएसबारे अद्यावधिक रहनसमेत सूचित गरेको छ । मौसमको अवस्थाबारे जानकारी लिनु परेमा ४११३१९१ र बाढीका लागि ११५५ नम्बर चौबिसै घण्टा खुला रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्