कारको ठक्करबाट दुईजनाको ज्यान गयो , ट्रक दुर्घटना हुँदा छोराको मृत्यु, बाबु घाइते

काठमाडौं, साउन ११ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका ४ पिपरी चोकमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।

बा२०च ५७४४ नम्बरको स्कारपियोले ठक्कर दिँदा घाइते भएका ५० वर्षीय राजकुमार चौधरी र रेमलाल चौधरीका ८ वर्षीय छोरा निसान चौधरीको मृत्यु भएको हो ।

शनिबार बेलुका पौने ७ बजे कारको ठक्कबाट घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । गाउँका अगुवा राजकुमारको बाँकेको कोहलपुरमा र बालक निसानको रुपन्देहीको बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही घटनामा घाइते राप्ती गाउँपालिका ८ पिपरीका ७ वर्षीया सृष्टि गुरूङ, २२ वर्षीया गौरी चौधरी र २ वर्षीया लक्ष्मी चौधरी घाइते भएका छन् । उनीहरुको बुटवलमा उपचार भइरहेको छ ।

थारु समुदायको परम्परागत पर्व गुरही सेलाउन जाने क्रममा उनीहरुलाई कारले ठक्कर दिएको थियो ।

मकवानपुरमा ट्रक दुर्घटना हुँदा छोराको मृत्यु, बाबु घाइते

मकवानपुरमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आइतबार बिहान ट्रक सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मृतक राजका बाबु तथा ट्रकका चालक लक्ष्मीनारायण चौधरी घाइते भएका छन् ।

बारा जिल्लाबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ना ४ ख ७०४ नं।को ट्रक अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल झरेको र चौधरीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्