कोरोना फैलिएको आशंका: वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी

काठमाडौं, साउन ९ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । भोलि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा निषेधाज्ञाको माग चौतर्फी रुपमा आइरहेको थियो । प्रशासनले शुक्रबार राजनीतिक दलसँग छलफल गरेपछि निषेधाज्ञा लगाउने निर्णयमा पुगेको हो । संकट व्यवस्थापन केन्द्र पर्साको साउन ९ गते बसेको बैठकको निषेधाज्ञा जारी गरेको हो ।

जिल्लामा कोरोना भाइरस को संक्रमण व्यापक बन्दै गएको देखिएको, पछिल्लो समय लक्षण सहितका कोरोना संक्रमितहरु समेत देखापर्न थालेका, संक्रमित केहीको मृत्यू समेत भएको र कोभिड अस्पतालको आइसोलेसनमा रहेका अन्य केहीको अवस्था समेत जटिल देखिएकोले यसको संक्रमण थप फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम मिति २०७७ श्रावण १० गते विहान ५ बजेदेखि अर्को आदेशनभएसम्म पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्रभरी लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु घरबाहिर निस्कन पाउने छैनन् । शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार , भन्सार, आइसीपि, ड्राईपोर्ट, बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द गरिनेछ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

छिमेकी मित्रराष्ट्रसँग सीमाना जोडिएका सीमा नाकाहरु तथा खुल्ला सीमानाको जुनसुकै स्थानबाट यात्रुहरुको आवागमन निषेध गरिएकोमा लुकीछिपि मानिसहरुको आवागमन रोक्न सुरक्षाकर्मीहरुको व्यापक गस्ती बढाई गरिनेछ । नेपाल सरकारको निर्णय बमोजिम अत्यावश्यक अवस्थामा नेपाल आउनु पर्ने नेपालीहरुको लागि नेपाल प्रवेश गर्न ताकिएको रक्सौल बीरगञ्ज सीमा नाकाबाट आउने नेपालीहरुलाई नेपाल सरकारको निर्णय अनुसार स्वास्थ्य र सुरक्षाका मापदण्डहरुको पालना गर्दै होल्डिङ् सेन्टर हुँदै सम्वन्धित स्थानीय तहमा क्वारेन्टाइनसम्म पुर्याउन भने बाधा पर्ने छैन ।

निषेधज्ञाको निर्णयको अवज्ञा वा अवलेहलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गरिने पनि निर्णय भएको छ ।

कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशास ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनाको समेत सहयोग लिइने बताइएको छ ।

कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुको शीघ्र कन्ट्याक्ट ट्रेसिङ गरी चेकजाँचको कामलाई तीब्र पार्ने र संक्रमणको बढी जाखिम भएका स्थानहरुमा समेत पीसीआर चेकजाँचको लागि र्यान्डम रुपमा स्वाव संकलन गरिने बताइएको छ ।वीरगञ्जमा अब अन्य जिल्लाबाट र विशेषगरी भारतबाट आउन पूर्ण प्रतिबन्ध लगाइएको छ । विशेषगरी छिमेकी मुलुक भारतको बिहारमा संक्रमितको संख्या बढ्दै गएकोले यस्तो निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्