यी हुन् सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने दुई युवा, जसलाई प्रहरीले समातेको थियो साढे ३ घण्टामै

काठमाडौं , साउन ९ । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौंको डल्लुमा २२ वर्षीया युवतीमाथि एसिड आक्रमण गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले घटना भएको साढे ३ घण्टामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौं महानगरपालिका डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद छन् । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई गएराति साढे ११ बजे नागार्जुन नगरपालिका क्षेत्रबाट पक्राउ गरेको हो ।

सीसीटीभी फुटेजमा देखिएको रेकर्डका आधारमा खोजी गर्दा दुवै जना पक्राउ परेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । उनका अनुसार एसिड आक्रमण गर्ने भारतीय नागरिक मुन्ना रहेको र उनको बायाँ हातको केही भागमा एसिड परेर जलेको देखिएको छ ।

युवती किनमेलका लागि बाहिर निस्केका बेला एसिड प्रहार भएको थियो । युवतीले अर्कै केटालाई मन पराएको भन्दै उनीहरुले एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

ओखलढुंगा स्थायी ठेगाना भएकी २२ वर्षीया युवतीमाथि बिहीबार साँझ ७: ५५बजे नागार्जुन नगरपालिका ४ सृजनशील टोलमा एसिड आक्रमण भएको थियो । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

मुलुकी अपराध संहितामा यस्तो कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्