यमनको मानवीय अवस्था थप खराब: एडेन सहरका सरकारी भवनहरू कब्जा

एजेन्सी – यमनको बन्दरगाह शहर एडनमा भएको नयाँ लडाइँले त्यहाँको मानवीय अवस्था थप नाजुक बनेको छ । एडेनमा रहेका विश्व खाद्य कार्यक्रमका अधिकारीले आन्तरिक रूपमा विस्थापित भएका मानिसहरूका कारण त्यहाँ खाद्यान्न असुरक्षा रहेको बताएका छन् ।

गृहयुद्धका पूर्व साझेदारहरू दक्षिण यमन स्वतन्त्र होस् भन्ने चाहने पृथकतावादी र साउदी समर्थित सरकारका फौजहरू बीचको लडाइँमा कम्तीमा १० जना मारिएका छन् भने अन्य थुप्रै घाइते भएका छन् । सरकार र पृथकतावादी नेतृत्वले आफ्ना फौजहरूलाई लडाइँ रोक्न आदेश दिएपछि हिंसा कम भएको बीबीसीले उल्लेख गरेको छ । उनीहरूले अवस्थालाई शान्त पार्न अरब साझेदारहरूलाई सहायताको आह्वान गरेका छन् ।यसैबीच दक्षिणी यमनका पृथकतावादीहरूले एडेन सहरका सरकारी भवनहरू कब्जा गरेका छन् । सरकारी फौजसँगको उग्र झडपका माझ उनीहरूले ती भवनहरू कब्जा गरेका हुन् । प्रधानमन्त्री अहमद बिन डागरले पृथकतावादीहरूले सत्ता हातमा लिन खोजेको आरोप लगाएका छन् ।

हादी सरकारको अस्थायी आधार क्षेत्रको रूपमा बन्दरगाह सहर एडेन रहेको छ जबकी हुथी विद्रोहीहरूले राजधानी सानामाथि नियन्त्रण कायम गरेका छन् । अहिलेको यमन सन् १९९० मा उत्तरी र दक्षिणी यमन मिलेर बनेका हुन् । तर पृथकतावादीहरूको दक्षिणी यमन स्वतन्त्र होस् भन्ने आकांक्षा कायमै छ ।

प्रतिक्रिया दिनुहोस्