काठमाडौं उपत्यकामा थपिए ९ कोरोना संक्रमित , कहाँ कति थपिए ? हेर्नुहोस सुचिसहित

काठमाडौं , साउन ८ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा ९ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरमा २, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका १ र काठमाडौँमा २ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै पाटन अस्पतालमा काठमाडौँका ३ र स्टार अस्पताल सानेपामा ललितपुरका १ जनामा कोरोना पोजिटिभ देखिएको छ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका २ जना, सुनसरीका २ जना, कोशी अस्पताल विराटनगरमा मोरङका ४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना र मोरङका ४ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका २ जना र सप्तरीका ७ जना संक्रमित भएका छन् ।

यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका १७ जना संक्रमित भएका छन् । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एकजना र काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ ।

भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका एकजना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा पर्वतका एकजना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका एकजना संक्रमित भेटिएका छन् ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, स्याङ्जाका एकजना र पर्वतका २ जना संक्रमित भेटिएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका ११ जना, प्युठानका २ जना र नवलपरासीका एकजना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रुपन्देहीका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ५ जना, सल्यानका एकजनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका २४ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका २ जना र डोटीका ७ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २ जना, बझाङका एकजना र कंचनपुरका ३० जना रहेका छन् ।

डा गौतमका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्