लखेटेरै सशस्त्र प्रहरी जवानको हत्या आशंका, तीनजना पक्राउ

काठमाडौं, साउन ८ । नहरमा मृत भेटिएका सशस्त्र प्रहरी जवानको हत्या आशंकामा तीनजना पक्राउ परेका छन् । सिरहाको खिरौनास्थित नहरमा मृत फेला परेका सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको हत्या भएको आशंका प्रहरीले गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–३ मखनाहाका २५ बर्षीय जयकेशकुमार यादव, २० बर्षीय मंगला भनिने दिपेशकुमार यादव र २२ वर्षीय बुलना भनिने मुकेशकुमार यादव रहेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

महोत्तरीको सोनमा गाउँपालिका–३ घर भएका यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।पक्राउ परेकाहरुलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको डीआईजी सिंहले जानकारी दिए ।

सिरहा नगरपालिका १७ स्थित सशस्त्र प्रहरी नेपाल बोर्डर आउटपोष्ट माडरमा कार्यरत यादव गत असार १६ गते नहरमा मृत फेला परेका थिए ।चोर भन्दै लखेटेर यादवको हत्या गरिएको थियो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्