सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं, साउन ७ । नेपाली बजारमा निरन्तर बढिरहेको सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबारको भन्दा १३ सय रुपैयाँले बढेर बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ । नेपाली बजारमा मंगलबार सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो हालसम्मकै सर्वाधिक मूल्य भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । कोरोनाले अन्तर्राष्ट्रिय बजारमा पारेको प्रभावसँगै सुन प्रतितोला एक लाख पुग्न सक्ने व्यवसायीको अनुमान छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अघिल्लो दिनका तुलनामा चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला ११ सय ३५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार बिहान सुन प्रतिऔंस १८५७।०१ डलर पुगेको छ भने चाँदी प्रतिऔंस २२.३६ डलर पुगेको छ । सोमबार १८०८.०१ डलर प्रतिऔंस पुगेको सुन मंगलबार १८१७.७४ डलरमा कारोबार भएको थियो । सोमबार प्रतिऔंस १९.३० डलर रहेको चाँदी पनि बढ्दै मंगलबार प्रतिऔंस कारोबार मूल्य २०.२७ पुगेको थियो ।

सुनको मूल्य अन्तराष्ट्रिय बजारमा उच्च रुपले बढेका कारण त्यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्