अझै तीन दिन वर्षा हुने, यस्तो छ मौसमको पूर्वानुमान

काठमाडौं। साउन ७ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै आगामी तीन दिनसम्म मौसम सक्रिय रहने जनाएको छ ।देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले गएको आइतबारदेखि लगातार ६ दिनसम्म पानी पर्ने अनुमान गरेको हो ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेको अवस्था छ ।जल तथा मौसम विज्ञान विभागले हिउँद र प्रिमनसुनमा बढी वर्षा भएकाले मनसुनमा बाढीपहिरो बढेको जनाएको छ ।

विभागका महानिर्देशक सरजु वैद्यले हिउँदको वर्षाले जमिन भिजेको र गलिसकेका कारण मनसुन शुरु हुने बित्तिकै ठाउँठाउँमा पहिरोका घटनाहरु भएको बताए ।ऊर्जा, जलस्रोत तथा सिंचाइँ मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले साउन ९ गते शुक्रबारसम्म वर्षा हुने र यसपछि क्रमिक रुपमा कम हुँदै जाने जानकारी दिएका थिए ।

वर्षाका कारण पानीको बहाव मुख्य नदी तथा खोलामा पर्ने भएकाले त्यस आसपासका बस्तीमा जोखिम हुने भन्दै सुरक्षित रहन उनले आग्रह गरेका छन् ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाको अनुरोध छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार मनसुन सुरु भएपछि जेठ ३० यता मुलुकभर पहिरोमा परी १ सय ११ बढीले ज्यान गुमाइसकेका छन् भने ४३ जना बेपत्ता छन् ।

अविरल वर्षापछि आएको बाढीले ३ जनाको मृत्यु, ५ जना बेपत्ता र १ जना घाइते छन् ।अहिलेसम्म क्षति पुगेको मध्येमा सिन्धुपाल्चोकलगायत पहाडी भू–भागमा रहेका छन् । वर्षाले गर्दा मुख्य नदि तथा खोलामा समेत बहाब बढी त्यस आसपासका बस्ती डुबानमा पारेको छ । त्यस्तै मुख्य राजमार्ग, सडक, विद्युत्मा व्यापक क्षति पुर्‍याएको छ ।

 

यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान

साउन ७ गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ८ गते (विहीबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोृरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्