विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६ लाख नाघ्यो, कुन देशमा कति ?

 

काठमाण्डौ , साउन ३ । विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ लाख नाघेको छ । झण्डै आठ महिनाअघि चीनको वुहानबाट सुरु भएर विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या छ लाख नाघेको वल्डोमिटरले जनाएको छ ।

कोरोना प्रभावबारे विश्वको तथ्याङ्क सार्वजनिक गरिरहेको वल्डोमिटरका अनुसार विश्वका एक करोड ४२ लाख १५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा ६ लाखभन्दा धेरैको ज्यान गएको छ । ८४ लाख ८७ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

कोरोनाको प्रभाव सबैभन्दा बढी अमेरिकामा परेको छ । अमेरिकामा ३७ लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण हुँदा एक लाख ४२ हजारभन्दा धेरैको ज्यान गएको छ । दोस्रो नम्बरमा परेको ब्राजिलमा २० लाख ४८ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा ७७ हजार नौ सयभन्दा धेरैको ज्यान गएको छ ।

त्यस्तै तेस्रो नम्बरमा छिमेकी देश भारत रहेको छ । भारतमा १० लाख ४० हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण हुँदा २६ हजार दुई सय ९५ जनाको ज्यान गएको छ । भारत कोरोनाको कारण धेरैको ज्यान जाने देशको सूचीमा भने आठौँ नम्बरमा रहेको छ ।

धेरै ज्यान गुमाउने देशको तेस्रो सूचीमा बेलायत छ । बेलायतमा दुई लाख ९३ हजारभन्दा बढीमा सङ्क्रमण हुँदा ४५ हजार दुई सय ३३ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्