आज ५७ जनामा मात्रै कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ५०२ पुग्यो

काठमाडौं, साउन ३ । नेपालमा शनिबार थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ३ हजार ३३१ जनाको पीसीआर गरिएकोमा ५७ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ६३७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्