काठमाडौं उपत्यकामा ४८०० जनाको पिसिआर परीक्षण , ३ जनामा मात्रै कोरोना संक्रमण

काठमाडौं, साउन २ । पछिल्लो समय बाहिरि जिल्लामा भन्दा काठमाडौं उपत्यकामा कोरोनाका संक्रमण बढ्दो क्रममा छ । यता काठमाडौं उपत्यकाबाट बाहिर नगएका ९ट्राभल हिस्ट्री० व्यक्तिलाई समेत कोरोना पोजिटिभ देखिएपछि सरकारले समुदायमा कोरोनाको स्थिति पत्ता लगाउन परीक्षणलाई तीव्र बनाएको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हालसम्म गरिएको ४ हजार ८ सय जनाको पिसिआर परीक्षणमा ३ जनाको मात्र पोजिटिभ आएको छ। जसमा टोखा क्षेत्रका ३ जनामा कोरोना पोजिटिभ आएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ती ३ जनामध्ये २ जनाको ट्राभल हिस्ट्री देखिएको छ भने एकजना ब्युटिपार्लरमा काम गर्ने महिलालाई देखिएको हो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले उपत्यका विभिन्न स्थानबाट लिइएको नमुना परीक्षण गर्दा आएको रिपोर्टका आधारमा समुदायमा संक्रमण नभएको तर उच्च जोखिम भने रहेको बताए।उपत्यका ४ हजार ७ सय ९७ जनाको नेगेटिभ रिपोर्ट आएको डा पाण्डेले बताए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले साउन १ गते सामाखुसी क्षेत्रबाट संकलन गरेको २ सय ३९ नमुनाको भने परीक्षण हुन बाँकी छ। महाशाखाले नख्खु, कोटेश्वर, बोडे, सहिद गंगालाल अस्पताल, काठमाडौं महानगरपालिका, शंखमुल, बुढानिलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीबजार, मनोहरा, टोखा लगायतका स्थानबाट नमुना लिइएको थियो।

यस्तै उपत्यकामा महाशाखाले मानिसहरुको बढी भिडभाड हुने स्थान र कार्यालयहरु जस्तैः बैंक, अस्पताल, मालपोत, कर कार्यालय लगायतका स्थानबाट स्वाब संकलन गरेको हो।

अहिलेको अवस्थामा समुदायमा संक्रमण नदिएपछि संक्रमणको जोखिम उच्च रहेको छ । मानिसहरु लकडाउन अगावैको जस्तो गरी सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाई भीड जम्मा गरेर बस्ने, हातको सफाइमा ध्यान नदिने धेरै देखिएकोले संक्रमणको उच्च सम्भावना यथावत नै रहेको छ ।
संक्रमणको जोखिम अझै रहिरहेकाले अरुबाट आफूलाई संक्रमण नहोस र अरुलाई पनि आफूबाट संक्रमण नहोस भनेर सतर्क रहनुपर्ने आवश्यक छ ।

मानिससँग दूरी कायम गर्न, भीडभाडमा नजान, मास्क प्रयोग गर्न, बारम्बार साबुनपानीले हात धुन र खोक्दा वा हाछ्युँ गर्दा कुहिनोले नाकमुख छोप्न डाक्टरले सुझाव दिएका छन्

प्रतिक्रिया दिनुहोस्